चेपाङ भाषा संरक्षण

चेपाङ भाषा संरक्षण

चेपाङ भाषा संरक्षण
- विमल खतिवडा, कोराक (चितवन)

पुस २४, २०७२- पुराना पुस्ता आफ्नो भाषाबारे जानकार हुन्छन् । नयाँ पुस्ता भने भाषाबारे कमै जानकार छन् । नयाँ पुस्ताले पुर्खाको पालादेखि बोल्दै आएको भाषा नजान्दा र नबोल्दा लोप हुने खतरा सबै समुदायमा छ । त्यही भएर होला चेपाङ समुदायका केही शिक्षक भाषा संरक्षण अभियानामा जुटेका छन् । चेपाङ भाषाको पाठ्यपुस्तक तयार पारेर विद्यालयमा पठाइएको छ । चेपाङ बालबालिकाको बाहुल्य रहेका विकट विद्यालयमा पुस्तक उपलब्ध गराइएको छ । पुस्तकको नाम ङीको किताब (हाम्रो किताब) राखिएको छ ।

‘हामीले भाषा बुझे पनि छोराछोरीले नबोल्ने र नबुझ्ने हुँदा लोप हुने खतरा बढ्यो,’ कोराक ५ स्थित राष्ट्रिय प्राविका शिक्षक नवराज चेपाङले भने, ‘त्यही भएर १ कक्षाको लागि भनेर चेपाङ समुदायले बोल्ने ठेट भाषाको पुस्तक तयार पारेका हौं ।’ उनका अनुसार शिक्षा कार्यालयको सल्लाहमा तयार पारिएको पुस्तक ग्रामीण पुनर्निर्माण संस्था (आरआरएन) ले प्रकाशन गरिदिएको हो । उक्त विद्यालयमा ३० वटा पुस्तक वितरण गरिएको छ । विद्यार्थीले पुस्तक बोकेर आउने गरेका छन् । छुट्टै पढाउने व्यवस्था भने गरिएको छैन ।
विद्यार्थीलाई समय निकालेर उनैले पुस्तकमा भएका कुरा सिकाउँछन् । ‘कक्षामा अनिवार्य बनाउने भनेर पुस्तक निकालिएको हो तर छुट्टै पढाउन सकिएको छैन,’ उनले भने, ‘समयअनुसार पुस्तकमा भएका कुरा सिकाउने गरेका छौं, विस्तारै नियमति रूपमा पढाउने योजनामा छौं ।’ उनका अनुसार पुस्तकमा आकार/इकार, बाल कविता, बाल गीत, चित्र, कथा समावेश गरिएको छ । ५ सय १ प्रति पुस्तक प्रकाशन गरिएको हो । चेपाङ भाषालाई समेटेर पहलमान चेपाङ, कृष्णराज सर्वहारी र उनले पुस्तक तयार पारेका हुन् । शैक्षिक सत्र ०७२ मा कोराक गाविसका विद्यालयमा मात्र पुस्तक वितरण गरिएको हो ।
‘पुस्तकको माग विभिन्न गाविसमा रहेका विद्यालयबाट पनि आएको छ,’ उनले भने, ‘थप प्रकाशनको माग गरेका छौं, सबै विद्यालयमा पुस्तक उपलब्ध गराउन सकिए चेपाङ बालबालिकाले आफ्नो भाषा सिक्न पाउने थिए ।’ जिल्लाको पहाडी गाविसमा चेपाङ समुदायको बसोबास बाक्लो छ । अभिभावकले भाषा राम्रोसँग बोल्छन् । तर बालबालिकाले अभिभावकको जस्तो भाषा बोल्न सक्दैनन् । ‘भाषा संरक्षण गर्न नसकिए लोप हुने निश्चित छ,’ लोथर ७ स्थित दुङबाङ प्राविका प्रअ अतिबल चेपाङले भने, ‘पाठ्यपुस्तक नआए पनि सबै विद्यार्थी चेपाङ भएकाले आफ्नै भाषामा समेत उनीहरूले बुझाएर पढाउने गरेका छौं ।’ उनले पुस्तक उपलब्ध हुन सके विद्यार्थीलाई भाषा सिक्न सजिलो हुने बताए ।

प्रकाशित: पुस २४, २०७२
कान्तिपुर ›शिक्षा ›विमल खतिवडा