पञ्चशील नीति

पञ्चशील नीति

जेष्ठ ८, २०७३- आजको भूगोलअनुसार बुद्ध जन्मेको देश नेपाल छिमेकी भारतको तुलनामा भूमिमा ४.४७ प्रतिशत र जनसंख्यामा २.१४ प्रतिशत मात्र छ । त्यस्तै चीनको तुलनामा भूमिमा १.५३ प्रतिशत र जनसंख्यामा २.०४ प्रतिशत मात्र छ । यसरी दुई ठूला छिमेकीको आर्थिक, राजनीतिक प्रभाव विस्तारको चपेटामा परेको यो देशले सम्झनैपर्ने तथ्य के हो भने यहांँ जन्मेका बुद्धले आफ्नो बोधि ज्ञानको प्रभाव यी दुवै देशमा घनिभूत रूपले फैलाएका थिए । बुद्धकालमा दक्षिण एसियामा भारतजस्तो एकीकृत राज्य थिएन । नेपालमण्डल, कोशल, मगध, वैशाली, कपिलवस्तुजस्ता राज्य थिए । त्यतिबेलाको कपिलवस्तु अहिलेको तिलौराकोट क्षेत्र नै हो भन्ने उत्खननले प्रमाणित भैसकेकै छ । कपिलवस्तुको राजकुलमा २९ वर्षको जीवन बिताउँदा सिद्धार्थ गौतमलाई पिता शुद्धोदन राजाले जति सांसारिक सुखसयलमा राख्न खोज्दा पनि भएन । दरबार बाहिरतिर चहारेको उनको मन बिरामी, बुढेसकाल, मृत्यु र गृहत्याग जस्ता कुरामा केन्द्रित रह्यो ।

अनि प्राणी मात्रको कल्याण गर्ने कुरामा उनको चित्त तल्लिन रह्यो । अन्त्यमा प्रिय पत्नी यशोधरा, पुत्र राहुल अनि राजदरबारको सुखमात्र होइन, कपिलवस्तु राज्यसमेत त्यागी घनघोर जंगलतिर तपध्यान गर्न गए । त्यस दौरान अध्ययन गरेका र ऋषिमुनीबाट सुनेका ज्ञानबाट उनलाई चित्त बुझेन । त्यसपछि ६ वर्षसम्म कठोर तपस्या गर्दा के अठोटमा पुगे भने शरीरलाई कष्टमात्र दिएर ध्यानसिद्ध नहुने रहेछ ।यस्तो परिपक्वतातिर बढ्दै दैनिक मध्यान्हअघि एकछाक भोजन लिई सिद्धार्थ गौतम निरन्तर ध्यानमा रहे । ४१ वर्षको उमेरमा प्राणी मात्रको कल्याण गर्ने बोधिज्ञान प्राप्त गरे । जुन पीपलको रुखमुनि उनले ज्ञान पाए, त्यसलाई बोधिवृक्ष र त्यस स्थानलाई बोधगया भनियो । त्यसपछि यो ज्ञानलाई लोकहितमा लगाउने तरिका खोज्दै बुद्ध बनारस नजिक सारनाथ पुगे र त्यहाँं पूर्वपरिचित पाँंच ध्यानीका बीचमा उनले धर्मचक्र प्रवर्तन गरे । धर्म प्रचारको सिलसिलामा मगधको राजधानी राजगृहमा प्रवचन दिँदा त्यहाँको राजा बिम्बिसार स्वयम् प्रभावित भई बुद्धधर्म पालन गर्ने भए र बुद्धलाई राज्यबाट चाहिने ठूलो समर्थन प्राप्त भयो । त्यस्तै वरिपरिका वैशाली, कोशल, कपिलवस्तुजस्ता राज्यमा बुद्ध धर्मको व्यापक प्रभाव रह्यो ।

बुद्धको प्रभावको तत्काल नतिजा एउटा के देखियो भने यी राज्यहरू बीचमा भइरहने सधैंको द्वन्द्वमा व्यापक कमी आयो । शान्ति र स्थायित्वका कारण उद्योग–व्यापार फस्टाए । यो देखेर साहु–महाजनसमेत बुद्धबाट प्रभावित भए । अनाथपिण्डिक भनिने महाजनले त जेटवन भन्ने एउटा वन क्षेत्र दान दिई त्यसमा विहारसमेत बनाइदिएका थिए । बुद्ध आफ्ना जीवनकालमा वर्षको चार महिनामात्र स्थिर भएर बस्थे र बाँकी ८ महिना विभिन्न स्थानको यात्रामा नै बिताउँथे । उनले तत्कालीन उत्तरभारतको अधिकांश बस्तीमा प्रचार गरे । आफ्नो जन्मभूमि कपिलवस्तुमा उनी ४ पटक पुगेको उल्लेख छ । बुद्धले ल्याएको सामाजिक सुधारको सन्देशले दक्षिण एसियाको भूगोल कतै अछूतो रहेन । बुद्धको निर्वाण भएको २ सय वर्षपछि शक्तिशाली राजा अशोकले विश्वमा बुद्धधर्म फैलाउने काम गरे, जुन बुद्धकालमा भएको कामभन्दा कम थिएन । उनैले बुद्ध जन्मस्थल लुम्बिनी आई ऐतिहासिक स्तम्भ र जन्मस्थान चिन्हसमेत राखेर हामीलाई गुन लाए । हाल पाकिस्तानमा पर्ने तक्षशिलालाई बौद्ध शिक्षा केन्द्रका रूपमा विकास गरियो । उनका छोरा महेन्द्र र छोरी संघमित्राले श्रीलंकामा र छोरी चारुमती नेपाल आई बुद्धधर्म प्रचार गरेको इतिहास छ ।

त्यस्तै नेपालका बुद्धभद्र, भृकुटी र अरनिकोले चीनमा गई विभिन्न किसिमले बुद्धधर्म प्रचार गरे । अशोकको अथक प्रयासले बुद्धधर्म अफगानिस्तानदेखि बर्मासम्म र श्रीलंकादेखि चीनसम्म फैलिएको अभिलेख छ । तर अशोकपछि भारत, पाकिस्तान क्षेत्रमा बुद्धधर्म प्रचारमा ह्रास आउन सुरु भयो र सातौं शताब्दीमा सुआन चाङले भारतमा बुद्धधर्म शिथिल हुँदै गएकोमा चिन्तासमेत व्यक्त गरेका थिए । सन् ११९३ मा बख्तियार खिल्जीले पूर्वी भारत कब्जा गर्ने दौरानमा नालन्दा र विक्रमशिला विहार ध्वस्त गरेका थिए । त्यहाँको शिक्षक, विद्यार्थीको हत्या गर्ने र त्यसबेलाका सबभन्दा ठूलो पुस्तकालयमा रहेको ग्रन्थहरूसमेत जलाएर बुद्धधर्म नष्ट गर्ने अभियान चलाए । तीन महिनासम्म पुस्तकहरू जलेको कथा त्यस क्षेत्रमा अहिलेसम्म प्रचलित छ । त्यसपछि भारत र पाकिस्तान क्षेत्रमा बुद्धधर्म कहिल्यै उठ्न सकेन । बुद्ध तीर्थस्थल पनि इतिहासको गर्भमै रहेका थिए । पछि अंग्रेज शासनकालमा खासगरी अलेक्जन्डर कनिङघामले सन् १८६१/६२ मा नालन्दा र सन् १८८३ मा बोधगया उत्खनन गरेपछि मात्र यी स्थान बुद्धको पुण्यभूमिको रूपमा परिचित भएका हुन् । त्यसपछि बीसौ शताब्दीको पूर्वाद्र्धमा महात्मा गान्धी, रविन्द्रनाथ टेगोर र भीमराव अम्बेदकर जस्ता विद्वानले बुद्धको महत्ता दर्शाउने कोसिस गरे ।

नेपाल र चीनमा भने बुद्धधर्म फस्टाउने काम भई नै रह्यो । यहांँबाट यो धर्म कोरिया, जापानसम्म पुग्यो । चिनियाँ मूल भएका दक्षिणपूर्वी एसियाका देशमा समेत बुद्धधर्म फैलियो । यता भारतको पूर्वमा भुटान, म्यान्मार, थाइल्यान्ड, लाओस, कम्बोडिया र भियतनाम पनि बौद्ध राष्ट्रको रूपमा नै विश्वमा उभिए । एसियाका कम्तीमा दस राष्ट्रले बुद्धलाई आफ्नो प्रमुख धर्म प्रवर्तकको रूपमा मानिआएकोले बुद्ध विश्व नागरिक (ग्लोबल सिटिजन) बनेका छन् र बुद्धका सन्ततिको हैसियतले यसमा हामीले गर्व नै गर्नुपर्छ । जसरी बुद्धको समयमा विभिन्न राज्यका बीचमा भएका द्वन्द्व समाधान गर्न बुद्ध वचनले काम गरेको थियो, आजको युगमा पञ्चशीलको नयांँ व्याख्याले त्यस्तै काम गरेको छ । बुद्धले हिंसा, लोभ, व्यभिचार, असत्य र नशा त्याग्ने पञ्चशीलमा हिँडाएर त्यसबेला शान्ति स्थापना गरेका थिए । त्यही अनुशरण गर्दै सन् १९५५ मा बाङडुङमा भएको अफ्रो–एसियाली सम्मेलनमा भारत र चीनको पहलमा नयांँ पञ्चशीलको सिद्धान्त अनुमोदन गरिएको थियो ।

त्यसका बुंँदा यस्ता थिए–
१)     एक राष्ट्रले अर्को राष्ट्रको सार्वभौमसत्ता सम्मान गर्ने ।
२)     एक राष्ट्रले अर्को राष्ट्रमा आक्रमण वा अतिक्रमण नगर्ने ।
३)     एक राष्ट्रले अर्को राष्ट्रको आन्तरिक मामलामा दखल नदिने ।
४)     आपसी हितका लागि एक राष्ट्रले अर्को राष्ट्रसंँग सहयोग गर्ने ।
५)     शान्तिपूर्ण सहअस्तित्व कायम गर्ने ।

नेपालको छिमेकी राष्ट्रसंँगको सम्बन्धमा पञ्चशीलका यी सिद्धान्तलाई आधार मानी तिनलाई सहृदय पालना गर्ने हो भने सम्बन्धमा कहिल्यै गतिरोध आउँदैन । साथै पारस्परिक हित र विकासको कामसमेत तीव्र रूपमा हुन्छ । त्यसैले यस क्षेत्रका राजनेताहरूले बुद्धबाट प्रेरणा लिन जरुरी छ ।

प्रकाशित: जेष्ठ ८, २०७३
कान्तिपुर ›विचार/विश्‍लेषण ›मिलनराज तुलाधर