बुद्ध शिक्षाको मूल प्रवाहीकरण

बुद्ध शिक्षाको मूल प्रवाहीकरण

बुद्ध शिक्षाको मूल प्रवाहीकरण
- फणीन्द्रकुमार न्यौपाने, काठमाडौं


जेष्ठ ८, २०७३- २५६० औं बुद्ध जयन्तीका अवसरमा नेपाल सरकारले अन्तर्राष्ट्रिय बुद्ध जयन्ती समारोह तथा अन्तर्राष्ट्रिय बौद्ध गोष्ठी आयोजना गर्‍यो । उक्त समारोह एवं गोष्ठीको मुख्य उद्देश्य लुम्बिनीलाई बुद्ध जन्मस्थलको रूपमा मात्र नभई बुद्ध दर्शनको उद्गम भूमिका रूपमा समेत विश्वस्तरमा चिनाउनु हो जुन सकारात्मक छ । अब नेपालीको काँधमा नेपाललाई बुद्ध जन्मभूमि भनिदिएकोमा रमाउने मात्र हैन, बरु बुद्ध शिक्षालाई बुझ्ने र आत्मसात गर्ने समय आएको छ ।

राजकुमार सिद्धार्थले २९ वर्षको उमेरमा राज्य परित्याग गरी ३५ वर्षको उमेर हुुँदा प्राप्त गरेको बुद्धत्वलाई आफ्नो महापरिनिर्वाण हुँदाको उमेरसम्म तत्कालीन समयको गाउँ, नगर एवं राज्यमा प्रचार गरेको शिक्षा नै बुद्ध शिक्षा हो । बुद्ध आफूलाई तथागत भनेर सम्बोधन गर्न रुचाउँथे, जसको अर्थ तथ्यको सहारा लिएर जीवन र जगतको अन्तिम सत्यसम्म पुग्नु भन्ने हुन्छ । चित्त र शरीरधारी मानव जीवनको दु:ख, दु:खको कारण, दु:ख निवारण र उपाय सत्यलाई सम्पूर्ण रूपमा बुझेकाले नै भगवान बुद्धलाई तथागत भनिएको हो ।

बुद्धका उपदेशहरूमा सार्वजनिन र कालजयी विशेषता पाइन्छ । उनको शिक्षामा मानव शान्ति, बन्धुत्व, मैत्री तथा सद्भावका वस्तुपरक उपदेशको व्यावहारिक र प्रयोगात्मक देशना छ । यी शिक्षाहरू सरल भाषामा अभिव्यक्त भएका एवं स्वयं जाँच्न सकिने भएकैले निरन्तर जनआस्थाको केन्द्रमा छन् । बुद्धका शिक्षाहरू आज धर्मको रूपमा आधा अर्बभन्दा बढी जनताले अपनाइरहेका छन् ।

दर्शन र मनोविज्ञान विषयको रूपमा विश्वका विभिन्न विश्वविद्यालयमा बुद्ध शिक्षा अध्ययन र अनुसन्धानको विषय बनिरहेको छ । यस्ता महामानवको जन्म नेपालको लुम्बिनीमा हुनु हामी सम्पूर्ण नेपालीको गौरवको विषय हो भने उनको शिक्षालाई नेपाली जनजनमा स्थापना गर्नु आजको आवश्यकता हो ।

ईसापूर्व ६२३ मा तत्कालीन समयको शाक्य गणराज्यमा जन्मिएका सिद्धार्थ गौतम ८० वर्षको उमेरमा अथवा ईपू ५४३ मा महापरिनिर्वाण भएका थिए । बुद्धको जन्म, ज्ञानप्राप्ति र महापरिनिर्वाण जस्ता प्रमुख तीन घटना वैशाख पूर्णिमाको दिनमै भएको हुनाले यस दिनलाई बुद्ध पूर्णिमाको नामले समेत पुकारिन्छ । भगवान बुद्धले मध्यमार्गको सिद्धान्त देशना गर्दै अति भोगविलास र अति दुश्करचर्याबाट जोगिनुपर्ने शिक्षा दिए ।

हरेक व्यक्तिले शान्तिको अनुभूति नगर्दासम्म समाज र राज्यमा शान्ति नहुने, आर्थिक–राजनीतिक समृद्धि नहुने हुनाले बुद्धले व्यक्तिगत शान्ति अनुभूतिलाई महत्त्व दिएका छन् । भगवान बुद्धले मानिसले जन्मसँंगै अपरिहार्य लिएर आउने भिन्नभिन्न प्रकारका दु:ख जस्तै वृद्धावस्था, मृत्यु, शारीरिक मानसिक पीडा, शोक, वैमनस्यता, प्रियसंँगको विछोड, अप्रियसंँगको संयोगजस्ता दु:खको वैज्ञानिक विश्लेषण गर्दै यस्ता दु:खको पछाडिको मूलकारण तृष्णा र यसप्रतिको अविच्छिन्न आशक्तिभाव भएको तथ्य उजागर गरे ।

अविद्यावा बेहोशीको कारण तृष्णा उत्पन्न हुने भन्दै उक्त तृष्णाको मूल अविद्यावा बेहोशीलाई नाश गर्नु नै दु:खमुक्तिको बाटो भएको तथ्य पनि प्रकाश पारे । यसको निम्ति उनले आठ उपायको देशना गरे जसमा सही ज्ञान वा वस्तुगत ढंगले विषय विश्लेषण गर्ने क्षमता (सम्यक दृष्टि), सही सोचविचार (सम्यक संकल्प), शुद्ध वचन (सम्यक वचन), सही आजीविका (सम्यक आजीविका), अरूलाई हानि नगर्ने शरीरका कर्महरू (सम्यक कर्मान्त), कुशल गुणहरूको विकास गर्ने अभ्यास (सम्यक व्यायाम), मन र शरीरका गतिविधिप्रति सजग बनिरहने अभ्यास (सम्यक स्मृति) र सही आलम्बनको सहारा लिएर मनको एकाग्रता बढाउने अभ्यास (सम्यक समाधि) पर्छन् ।

बुद्ध शिक्षा कोरा दर्शन र धार्मिक विषयमात्र नभएर यो जीवन र व्यवहारको प्रयोगात्मक आचारसंहिता हो र मानव सभ्यताको निम्ति अमूल्य निधि हो । यो ज्ञानलाई बुद्धकालीन समाजको राजनीतिक, आर्थिक, सामाजिक परिवेशमा सफलतापूर्वक प्रयोग गरिएको थियो भने आजको विश्व परिवेशमा पनि यसप्रतिको जागरण बढिरहेको छ । दोस्रो विश्वयुद्ध पश्चात गठन गरिएको एसियाली मुलुकका असंलग्न राष्ट्रहरूको समूहले बुद्ध शिक्षा अन्तर्गतको पञ्चशीललाई आफ्नो मार्गदर्शक सिद्धान्त मान्नु यस तथ्यको ज्वलन्त उदाहरण हो ।

संयुक्त राष्ट्र संघले बुद्ध पूर्णिमाका दिन विदा दिने चलन बसालेर बुद्ध शिक्षाको अन्तर्राष्ट्रिय महत्त्व स्थापना गराउन प्रयास गरेको देखिन्छ । त्यसैगरी बुद्धका शिक्षालाई सामाजिक व्यवस्था, राजनीति, अर्थव्यवस्था, व्यवस्थापन, वातावरण संरक्षण, लैङ्गिक विभेद, मानवअधिकार लगायतका वर्तमान समयका जल्दाबल्दा विषयसँंग जोडेर ‘अप्लाइड बुद्धिजम’ वा प्रायोगिक बुद्ध दर्शनको रूपमा विश्वका एकसेएक विश्वविद्यालयमा अध्ययन—अनुसन्धान सुरु भइसकेको छ ।

अब नेपालको राष्ट्रिय शिक्षानीति पनि बुद्ध शिक्षाको मूलप्रवाहीकरणतर्फ आकर्षित हुन आवश्यक छ । बुद्ध जन्मस्थलको गरिमा बोकेको राष्ट्रमा उहाँको शिक्षा जनजन र घर—घरमा पुग्नु आवश्यक छ । बुद्ध शिक्षाको सामाजिक मूलप्रवाहीकरण निम्ति विद्यालय र उच्च मावि स्तरको पाठ्यक्रममा यसले विशेष स्थान पाउन आवश्यक छ । राज्यले आफ्ना सञ्चार माध्यममार्फत यसको प्रचारप्रसार गरी जनचेतना फैलाउन पनि उत्तिकै जरुरी छ ।

नेपालमा विश्वविद्यालयको स्तरमा बुद्ध दर्शन, साहित्य र संस्कृतिको अध्ययन—अनुसन्धान सुरु भइसकेको छ । तर स्कुल एवं उच्च माध्यमिक स्तरको शिक्षामा यस विषयमा पर्याप्त ध्यान पुर्‍याउन नसक्नाले विश्वविद्यालय शिक्षाको निम्ति पर्याप्त आधारशिला निर्माणमा कठिनाइ भइरहेको छ । यसर्थ राष्ट्रले तल्लै स्तरदेखिको शिक्षा प्रणलीलाई बुद्ध शिक्षामैत्री बनाई चरित्रवान नागरिक निर्माण गर्न ठोस कदम चाल्न अनिवार्य देखिन्छ ।

न्यौपाने केन्द्रीय क्याम्पस, लुम्बिनी बौद्ध विश्वविद्यालयका सहायक प्रमुख हुन् ।

प्रकाशित: जेष्ठ ८, २०७३
कान्तिपुर ›विचार/विश्‍लेषण ›फणीन्द्रकुमार न्यौपाने