लोपोन्मुख भाषा पहिल्याउँदै

लोपोन्मुख भाषा पहिल्याउँदै

पुस २४, २०७२- पछिल्लो तथ्यांकले मुलुकमा १ सय २३ भाषा रहेको देखाएको छ । भाषाशास्त्रीले मुलुकको अधिकांश भाषा लोपोन्मुख छन् भनेका छन् । ती भाषाको अभिलेखीकरण जरुरी रहेको उनीहरूको निष्कर्ष छ । 

‘सम्बन्धित भाषिक समुदायलाई फुक्काफाल छाड्ने हो भने भाषा मासिन्छ नै उनीहरू आफैं भाषा जोगाउन सक्दैनन्,’ डेढ दशकदेखि लोपोन्मखु अल्पसंख्यक वक्ता रहेका भाषा अध्ययनमा संलग्न भाषाशास्त्री नारायण शर्मा भन्छन्, ‘भाषा भनेको सामाजिक र सांस्कृतिक सम्पदा हो । त्यसैले अभिलेखीकरण गर्न जरुरी छ ।’ 

करिब चार हजार वक्ता रहेको पुमा भाषामा विद्यावारिधि प्राप्त शर्मा हाल पोस्ट डक्टरेटको तयारीमा रहेका छन् । उनले मेवाहाङ भाषा रोजेका छन् । थप अध्ययनका निम्ति अक्सफोर्ड युनिभर्सिटी यूकेमा प्रस्ताव गरेको उनले इमेलमा बताए । त्रिभुवन विश्वविद्यालयबाट उनले थकाली भाषामा स्नातकोत्तर शोध गरेका थिए । त्यसपछि गुरुङ–नेपाली–अंग्रेजी शब्दकोश निर्माण, छिन्ताङ र पुमा भाषा अभिलेखनमा संलग्न थिए । भाषा अध्ययनमा श्रव्यदृश्य रेकर्ड, अनुवाद, शब्दकोश निर्माण महत्त्वपूर्ण हुने र त्यसनिम्ति व्यक्तिगत पहलले मात्र नपुग्ने शर्मा उल्लेख गर्छन् । 

संविधानले मुलुकमा बोलिने सबै मातृभाषालाई ‘राष्ट्रभाषा’ को संज्ञा दिएको छ । संघीय प्रदेशले प्रादेशिक भाषाका रूपमा कार्यान्वयन गर्न त्यस भाषालाई पहिल्याउन सक्ने भनेको छ । लामो समयदेखि राज्यले वितृष्णा जनाएकाले भाषिक वक्ता समुदायमा मातृभाषाप्रति सचेतनाको हिस्सा कमजोर हुन पुगेको शर्माको ठम्याइ छ। ‘सम्बन्धित समुदायलाई मातृभाषाको महत्त्व बुझाउन जरुरी छ,’ मातृभाषाहरू राज्यको सम्पत्ति भएको उल्लेख गर्दै उनी भन्छन्। जुनसुकै भाषाको सैद्धान्तिक अध्ययन, अनुसन्धान, अभिलेखीकरणका साथसाथै औपचारिक, अनौपचारिक पठनपाठनको व्यवस्था र मातृभाषा पढे/पढाएमा जागिर पाइने, लेख, रचना सिर्जना गरेपछि पारिश्रमिक पाइने स्थिति सिर्जना भएमात्र लोपोन्मुख भाषाहरूले न्याय पाउन सक्ने भाषाशास्त्री शर्माको ठम्याइ छ।
कान्तिपुर संवाददाता , काठमाडौं
प्रकाशित: पुस २४, २०७२ - www.ekantipur.com